वीरगञ्ज, ४ चैत । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै भारी परिमाणमा अवैध औषधि बरामद गरेको छ।
गुल्मका अनुसार काठमाडौँतर्फ लैजाँदै गरिएको अवस्थामा यात्रुवाहक सवारीसाधनबाट विभिन्न किसिमका औषधिहरू बरामद गरिएको हो। बरामद औषधिको अनुमानित मूल्य ६ लाख २६ हजार रुपैयाँ रहेको जनाइएको छ।
गए राति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा उक्त औषधिहरू फेला पारेको हो। नियमित जाँचका क्रममा बिलविजक नभएका औषधिहरू शंकास्पद रूपमा ओसारपसार भइरहेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा सिल्डिनाफिल ट्याब्लेट २ हजार १०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा रहेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा ती औषधिहरू यौनवर्धक तथा अनिश्चित गर्भनिरोधसम्बन्धी प्रयोजनका लागि प्रयोग हुने खालका रहेको बुझिएको छ।
सशस्त्र प्रहरीका अनुसार ती औषधिहरू आवश्यक कागजातबिना अवैध रूपमा ढुवानी गरिँदै थिए। खुला सीमाको फाइदा उठाउँदै यस्ता औषधिहरू चोरी पैठारी गरी आन्तरिक बजारमा वितरण गर्ने गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
बरामद गरिएका सबै औषधिहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गुल्मपति डिएसपी विकास अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा चेकजाँचलाई थप कडाइ गर्दै अवैध ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ। यस्ता गतिविधिविरुद्ध निरन्तर निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने पनि सुरक्षा निकायले स्पष्ट पारेको छ।
