पर्सामा संयुक्त सवारी चेकजाँच: ट्राफिक नियम उल्लंघनमा सचेतनामूलक अभियान सञ्चालन

समाचार

पर्सा, ४ चैत । पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत गण्डक चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र यातायात कार्यालय पर्साको संयुक्त आयोजनामा सवारी साधन चेकजाँच अभियान सञ्चालन गरिएको छ।

संयुक्त टोलीले सञ्चालन गरेको उक्त चेकजाँचका क्रममा सवारी साधनको प्राविधिक अवस्था, सवारीको बोक्ने क्षमता, टायरको अवस्था तथा सवारी दर्ता नवीकरण सम्बन्धी विषयहरूमा विशेष ध्यान दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन प्रसाद सेडारीको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा देखिएका त्रुटि तथा कमजोरीहरूलाई तत्काल कारबाही गर्नुको सट्टा पहिलो चरणमा सचेतनामूलक कार्यक्रममार्फत चालकहरूलाई सम्झाइ–बुझाइ गरिएको जानकारी दिएको छ।

चालकहरूलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने उद्देश्यले पहिलो पटक भेटिएका सामान्य त्रुटिहरूमा जरिवाना नगरी चेतावनी दिइएको र आगामी दिनमा पनि यस्ता गल्ती दोहोरिएमा कडा कारबाही गरिने प्रहरी वरिष्ठ नायब निरीक्षक सेडारीले बताए।

उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो संयुक्त अनुगमन अभियान सञ्चालन गरिएको हो। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र चालकहरूमा अनुशासन कायम गराउने उद्देश्यले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

स्थानीयस्तरमा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै गरिएको यस अभियानले चालकहरूलाई जिम्मेवार बनाउने तथा सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *