काठमाडौं, चैत ४ ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले सामाजिक संजाल मार्फत जारी गरेको सन्देशमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ, सहयोग र सहकार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार सरकार, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल तथा आम मतदाताको सक्रिय सहभागिताले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
प्रधानमन्त्री कार्कीले देश अब विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
