काठमाडौं, २१ चैत ।
सरकार परिवर्तनसँगै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कडाइ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यातायात सम्बन्धी सेवा दिने कार्यालयहरूमा बिचौलियाको संलग्नता पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार मातहतका विभाग, निकाय तथा कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने गतिविधि नियन्त्रणमा विशेष जोड दिइएको छ।
विज्ञप्तिमा बिचौलियामार्फत सेवा लिने वा दिने कार्य गैरकानुनी भएको स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
मन्त्रालयले सेवाग्राहीलाई कुनै समस्या परेमा सम्बन्धित निकायमा प्रत्यक्ष सम्पर्क गर्न तथा बिचौलियाको प्रलोभनमा नपर्न पनि अनुरोध गरेको छ। साथै, सेवा प्रवाहमा सुधार ल्याउन निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।
