वीरगञ्ज,८ बैशाख । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।
वैशाख ७ गते बिहान करिब ०८:२० बजेको समयमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले सीमा क्षेत्रमा पैदल आवतजावत गर्ने यात्रु तथा सवारी साधनहरूको जाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वीरगञ्जबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई रोकी कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा शरीरको पेट तथा छातीको भागमा रातो प्लास्टिकमा बेरी डोरीले बाँधी लुकाईछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्ला वेतिया नगरपालिका–३३ बस्ने ३५ वर्षीय सफि अहम्द, मझमलिया ग्राम–९ बस्ने ३३ वर्षीय विनय ठाकुर, नौराङावाद–३३ बस्ने ३० वर्षीय मुकिम मियाँ र मिनाबजार–२५ बस्ने २८ वर्षीय महम्द एकवाल रहेका छन्।
उनीहरूको साथबाट प्लास्टिक बाहेक करिब ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको बताए।
सीमा क्षेत्रमा हुने लागू औषध ओसारपसार नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा चेकजाँच कडा बनाउँदै आएको जनाएको छ।
