रसीद आलम
बारा, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न आक्रामक अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरको नेतृत्वमा अघि बढाइएको कडा रणनीतिका कारण फरार प्रतिवादी पक्राउ, तस्करी नियन्त्रण तथा लागूऔषध विरुद्धको अभियान प्रभावकारी बन्दै गएको देखिएको छ।
प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। विशेष खोजतलास अभियान अन्तर्गत पक्राउ परेकाहरूलाई मिति २०८३ वैशाख २१ गते बारा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ पर्नेहरूमा बारागढी गाउँपालिका–४ का ४० वर्षीय लक्ष्मण साह कानु रहेका छन्, जसलाई चेक अनादर मुद्दामा ५०० रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका–२२ का सुरेश घलान लागूऔषध गाँजा मुद्दामा १५ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति हुन्।
यसैगरी महागढीमाई नगरपालिका–८ का रामकिशोर प्रसाद यादव चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी रहेका छन् भने जीतपुरसिमरा–१ का ६० वर्षीय गंगा बहादुर मोक्तान वनसम्बन्धी मुद्दामा १० दिन कैद सजाय तोकिएका व्यक्ति हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार फरार प्रतिवादी पक्राउ अभियानलाई अझ तीव्र बनाइएको छ। एसपी कुवरले अपराधमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर रहने स्पष्ट पारेका छन्।
यसैबीच प्रहरीले लागूऔषध नियन्त्रणतर्फ पनि ठूलो सफलता हासिल गरेको छ। मिति २०८३ वैशाख २० गते राति करिब ८:२० बजे जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २१ केजी गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक युबराज दाहालको कमाण्डमा खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र. ०३-००३ प ५७६४ नम्बरको स्कुटरलाई शंका लागेर जाँच गर्दा स्कुटरको अगाडिको भागमा कालो प्लास्टिकले बेरी लुकाई छिपाई राखिएको गाँजा बरामद भएको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर छतिवन गाउँपालिका–४ निवासी १३ वर्षीय सुरेन्द्र गोले (चालक) र मकवानपुर राकसिराङ गाउँपालिका–७ निवासी १७ वर्षीय सलमान गुरुङ रहेका छन्। दुवैलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध ओसारपसारमा संलग्न समूहलाई लक्षित गरी निगरानी बढाइएको छ। सीमावर्ती क्षेत्र तथा राजमार्ग केन्द्रित विशेष चेकिङ अभियानले यस्ता अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ।
एसपी नरेन्द्र कुवरले लागूऔषध, तस्करी तथा फरार अपराधीविरुद्ध “शून्य सहनशीलता” नीति अपनाइएको बताउँदै आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिएका छन्।
बारामा प्रहरीले थालेको यस सक्रिय अभियानले शान्ति सुरक्षा सुदृढ हुनुका साथै अपराध नियन्त्रणमा सकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासीको भनाइ छ।
