बाल सुरक्षा तथा मानव बेचबिखन नियन्त्रणमा पर्सा प्रहरीको कडा कदम : इनर्वा नाकाबाट अभिभावकविना भारत जाँदै गरेका ८ नाबालिका रोकिए

समाचार

वीरगञ्ज,२४ बैशाख  । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुरक्षा तथा मानव बेचबिखन नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रमा कडा निगरानी सुरु गरेको छ। प्रहरी प्रमुख एसपी सुदिप राज पाठकको निर्देशनमा सीमा नाकाहरूमा विशेष चेकजाँच तथा निगरानी बढाइएपछि अभिभावक वा संरक्षकबिना भारततर्फ जाँदै गरेका ८ जना नाबालिकालाई प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ।

वडा प्रहरी कार्यालय बिर्ता मातहत रहेको प्रहरी चौकी इनर्वाले स्थापना गरेको हेल्प डेस्कमार्फत मिति २०८३/०१/२३ गते दिउँसो नेपालबाट भारतको रक्सौलतर्फ जाँदै गरेका १८ वर्षभन्दा कम उमेरका ८ जना नाबालिकालाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती नाबालिकाहरू कुनै पनि अभिभावक, संरक्षक वा आधिकारिक अनुमति बिना सीमावर्ती नाकाबाट भारत प्रवेश गर्न लागेको अवस्थामा फेला परेका थिए। शंकास्पद अवस्थामा यात्रा गरिरहेका उनीहरूलाई तत्काल रोक्दै प्रहरी चौकी इनर्वामा रहेको होल्डिङ जोनमा राखिएको थियो।

त्यसपछि प्रहरीले उनीहरूका परिवार तथा संरक्षकलाई सम्पर्क गरी चौकीमा बोलाएको थियो। आवश्यक सोधपुछ, पहिचान खुलाउने प्रक्रिया तथा सुरक्षा सुनिश्चित गरेपछि अभिभावकको जिम्मा लगाई सुरक्षित रूपमा घर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा बालबालिकालाई प्रलोभनमा पारेर भारत लैजाने, मानव बेचबिखन तथा विभिन्न जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने घटनाको जोखिम बढ्दै गएको भन्दै निगरानी थप कडा बनाइएको जनाएको छ। विशेषगरी विद्यालय उमेरका बालबालिका अभिभावकको जानकारीबिना सीमा पार गर्ने क्रम बढेपछि सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको प्रहरी स्रोतको भनाइ छ।

पर्सा प्रहरीका अनुसार मिति २०८३/०१/२२ गतेदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरिएको छ। उक्त व्यवस्थाअनुसार अब नेपालबाट भारततर्फ जाने नाबालक वा नाबालिकाहरू अभिभावकको साथ वा लिखित अनुमति बिना भेटिएमा उनीहरूलाई तत्काल होल्डिङ जोनमा राखिनेछ। त्यसपछि परिवार वा संरक्षकको जिम्मा लगाएपछि मात्र छाड्ने प्रक्रिया अपनाइने प्रहरीले स्पष्ट पारेको छ।

एसपी सुदिप राज पाठकको नेतृत्वमा पर्सा प्रहरीले सीमा क्षेत्रमा मानव बेचबिखन, बाल श्रम, हराइरहेका बालबालिकाको खोजी तथा बाल अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गरिरहेको छ। प्रहरीको यो सक्रियताले सीमावर्ती क्षेत्रमा बालबालिकाको सुरक्षा मजबुत हुनुका साथै मानव बेचबिखन नियन्त्रणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रहरीले अभिभावकलाई आफ्ना बालबालिकाको गतिविधिप्रति सजग रहन, अनुमति बिना सीमा क्षेत्रमा आवतजावत गर्न नदिन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *