पर्सामा लागूऔषध सुधार अभियान सुरु : सरोकारवालासँग व्यापक अन्तरक्रिया सम्पन्न

समाचार

वीरगञ्ज,२४ बैशाख  । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत पर्सामा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

मिति २०८३ वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण तथा सुधार अभियानलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

अभियानको पहिलो चरणअन्तर्गत तयारी अवस्थालाई सुदृढ बनाउन आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा लागूऔषध दुर्व्यसन नियन्त्रण, सेवनकर्ताको पहिचान, सुधार तथा पुनःस्थापनाका उपाय, समुदायस्तरमा जनचेतना अभिवृद्धि र समन्वयात्मक अभियान सञ्चालनबारे सुझाव आदानप्रदान गरिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै समुदाय, स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरेर अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *