वीरगंज, २ जेठ।
पर्सा बजार बिक्री प्रतिनिधि समूहको आयोजनामा तथा न्यु जयसवाल ट्रेडर्सको विशेष सहकार्यमा शनिबार वीरगंज बसपार्क क्षेत्रमा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव जीवन बचाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, व्यवसायी, महिला , बुद्धिजीवी ,सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। रक्त अभावका कारण धेरै बिरामीहरूले कठिनाइ भोग्नुपरेको वर्तमान अवस्थामा यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
विशेष आकर्षणका रूपमा प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक उमेश रायमाझीले स्वयं रक्तदान गरी मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। उनले रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। “रक्तदान जीवनदान हो, यसले मानवताप्रतिको जिम्मेवारीलाई उजागर गर्छ,” उनले बताए।

त्यसैगरी कार्यक्रमका प्रमुख सहयोगी न्यु जयसवाल ट्रेडर्सका संचालक दिपक प्रसाद कलावारले सामाजिक सेवामूलक कार्यमा आफ्नो संस्थाको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले रक्तदानलाई सबैभन्दा ठूलो मानव सेवा बताउँदै समाजमा सहकार्य र सहयोगको भावना विस्तार गर्न यस्ता अभियान आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रम सफल बनाउन पर्सा बजार बिक्री प्रतिनिधि समूहका पदाधिकारी, स्थानीय समाजसेवी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजक समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
रक्तदान कार्यक्रममा सहभागीहरूले “एक थोपा रगत, कसैको नयाँ जीवन” भन्ने सन्देशलाई आत्मसात गर्दै मानव सेवामा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रमले वीरगंज क्षेत्रमा सामाजिक सद्भाव, सहयोग र मानव सेवाको भावनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ।
