विपन्न एकल दलित महिलालाई सशस्त्र प्रहरी पर्साद्वारा नवनिर्मित घर हस्तान्तरण

समाचार

पर्सा, जेठ १० । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी एक विपन्न एकल दलित महिलालाई नवनिर्मित घर हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको पहलमा स्वर्गीय चोकट मलिकी श्रीमती छिमी मलिलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको घर शनिबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। वर्षौंदेखि असुरक्षित तथा जीर्ण टहरामा कष्टकर जीवन बिताउँदै आएकी छिमी मलिको अवस्था दयनीय रहेको जानकारीपछि सशस्त्र प्रहरी बलले सामाजिक उत्तरदायित्व अन्तर्गत घर निर्माणको अभियान अघि बढाएको जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा स्थानीय वडाध्यक्ष, समाजसेवी तथा सहयोगी व्यक्तिहरूको समेत महत्वपूर्ण सहयोग रहेको थियो। घर निर्माणका लागि सशस्त्र प्रहरी बलको जनशक्ति परिचालन गरिएको थियो भने आवश्यक समन्वय तथा व्यवस्थापन स्थानीय तहसँगको सहकार्यमा गरिएको बताइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाका अनुसार आर्थिक अभावका कारण सुरक्षित आवास निर्माण गर्न नसकेकी ती महिलालाई सम्मानजनक र सुरक्षित बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्यले घर निर्माण गरिएको हो।

घर हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरीका अधिकारीहरू तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारीसँगै समाजसेवा र मानवीय कार्यमा समेत उदाहरणीय भूमिका निर्वाह गरिरहेको बताएका थिए।

नवनिर्मित घर प्राप्त गरेपछि भावुक बनेकी छिमी मलिले जीवनमा पहिलो पटक सुरक्षित घर पाएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेकी छन्। “वर्षौंदेखि टहरामा दुःख गरेर बसेकी थिएँ, अब सुरक्षित घरमा बस्न पाउँदा धेरै खुशी लागेको छ,” उनले भनिन्।

सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क आँखा उपचार, विपन्न परिवारलाई राहत वितरण, जनचेतनामूलक कार्यक्रम, शैक्षिक सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस प्रकारका मानवीय गतिविधिले सशस्त्र प्रहरी बलप्रति स्थानीय समुदायको विश्वास र सम्बन्ध अझ मजबुत बन्दै गएको स्थानीयवासीले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *