नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल शल्यक्रिया, ११३ वर्षीया ज्येष्ठ महिला समेत लाभान्वित

समाचार

वीरगञ्ज, जेठ १० । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क आँखा शिविरपछि २२ जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ। शल्यक्रिया सेवा लिनेमध्ये ११३ वर्षीया एक ज्येष्ठ महिला समेत लाभान्वित भएकी छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र वीरगञ्ज को सहकार्यमा २०८३ जेठ ८ गते वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटस्थित श्री वविता पराजुली आधारभूत विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा आँखा परीक्षण गरिएका बिरामीहरूमध्ये मोतिबिन्दुलगायत समस्या देखिएका ३४ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। सिफारिस गरिएकामध्ये २४ जना सम्पर्कमा आएकोमा २२ जनाको सामुदायिक आँखा केन्द्र वीरगञ्जमा सफल शल्यक्रिया सम्पन्न गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

शल्यक्रियाका लागि आएका बाँकी २ जनाको स्वास्थ्य परीक्षणका क्रममा सुगरको मात्रा अत्यधिक देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको चिकित्सक टोलीले जानकारी दिएको छ। यस्तै, हालसम्म सम्पर्कमा नआएका अन्य १० जनालाई सम्पर्कमा आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले विपन्न तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष राहत पुगेको स्थानीयवासीले बताएका छन्।

यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले मानव सेवामुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *