बारा, जेठ १० । बारा प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको केरा र पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग करिब ८ लाख ५४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो।
प्रहरी चौकी कचोर्वाबाट प्र.ब.ना.नि. देव बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आइतबार बिहान करिब ५ः३० बजे सिम्रौनगढ नगरपालिका–९ कचोर्वा नयाँ बजार क्षेत्रमा शंकास्पद अवस्थामा रहेको बा.प्र. ०१–०३० च ७११० नम्बरको पिकअप गाडीलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा उक्त गाडीमा भन्सार छली गरी ल्याइएको १५४ कार्टुन केरा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको केराको अनुमानित मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको छ भने पिकअप गाडीको मूल्य करिब ७ लाख रुपैयाँ आँकलन गरिएको छ। यसरी बरामद सामान र गाडीको कुल मूल्य ८ लाख ५४ हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले पिकअप चालक ओखलढुंगा चम्पादेवी गाउँपालिका–५ निवासी १९ वर्षीय विश्वराज खड्का र सहचालक सर्लाही धनकौल गाउँपालिका–१ रामकल निवासी २२ वर्षीय सुनिल प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको छ।
बरामद सामान, पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि भन्सार कार्यालय पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्।
