बारा, ११ जेठ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले १५ दिने केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजना गरिएको उक्त तालिम कलैया उपमहानगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन गरिएको हो। मिति २०८३ साल जेठ ११ गते कलैया उपमहानगरपालिका–१० स्थित सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वा मातहत रहेको एफ.ओ.बी. निलकण्ठवामा एक विशेष कार्यक्रमका बीच तालिमको औपचारिक समुद्घाटन गरिएको जनाइएको छ।
तालिमको उद्घाटन सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वालले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले सीमावर्ती क्षेत्रका युवायुवती तथा स्थानीय बासिन्दालाई व्यवहारिक र आयआर्जनसँग जोडिने सीप प्रदान गर्नु सशस्त्र प्रहरी बलको उद्देश्य रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले बेरोजगारी न्यूनीकरणसँगै स्थानीय स्तरमै रोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विक्रममणि अधिकारीका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीलाई आधुनिक शैलीमा केश कर्तक सम्बन्धी व्यावसायिक सीप सिकाइनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्नै क्षेत्रमा सानो व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा कलैया उपमहानगरपालिका–१० का जनप्रतिनिधिहरू, सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी, मातहतका विभिन्न वि.ओ.पी. तथा एफ.ओ.बी.का कमाण्डरहरू, २० जना प्रशिक्षार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब ३० देखि ३५ जनाको उपस्थिति रहेको जनाइएको छ।
सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमावर्ती क्षेत्रमा सुरक्षा गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाइरहेको छ। स्वास्थ्य शिविर, विपद् व्यवस्थापन तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सीपमूलक तालिममार्फत स्थानीय नागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भइरहेको बताइएको छ।
स्थानीयवासीहरूले पनि यस्ता तालिमले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्प खोज्न सहयोग पुग्ने तथा गाउँमै स्वरोजगार बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले सामाजिक तथा आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
