बारा ,१९ जेठ । बाराको कलैया उपमहानगरपालिका–९ रामपुरमा टिप्परले घरअगाडि आँगनमा बसेका स्थानीयलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ १८ गते साँझ करिब ८ बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ४ ख ७८८२ नम्बरको ट्रकलाई सोही दिशाबाट पछाडि आएको रा १ ख १५३६ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा सडक छेउमा आफ्नै घरअगाडि आँगनमा बसेका व्यक्तिहरूलाई ठक्कर दिएको हो।
दुर्घटनामा कलैया–९ रामपुर निवासी ३५ वर्षीय सैमुदिन अन्सारी घाइते भएका छन्। उनको खुट्टाको तिघ्रा र कुर्कुच्चामा चोट लागेको छ। प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित सर्वोत्तम अस्पताल पठाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
यस्तै, १७ वर्षीय तबरेज आलम को हातमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको छ।
दुर्घटनामा २ वर्षीय समर अली पनि घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको छ र प्रादेशिक अस्पताल कलैयामै उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क बाराबाट प्रहरी सहायक निरीक्षक रमेश चनउ र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रकाश खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएको छ। साथै टिप्पर चालक कलैया उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रवी राम र ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका–११ निवासी करिब ५० वर्षीय लक्ष्मी नारायण सहनी लाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
