वीरगञ्ज, २५ जेठ । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट ३ ग्राम १० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको परीक्षण तथा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक को निर्देशनमा जिल्लाभर सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत पछिल्लो समय लागुऔषध कारोबारी तथा सेवनकर्तामाथि निगरानी बढाइएको छ। अभियानकै क्रममा विभिन्न स्थानबाट लागुऔषधसहित व्यक्तिहरू पक्राउ पर्दै आएका छन्।
प्रहरीले लागुऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लागुऔषध विरुद्धको अभियानलाई निरन्तरता दिँदै पर्सा प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा युवापुस्तालाई लागुऔषधको दुष्चक्रबाट जोगाउन कडा निगरानी र कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ।
