बिरगंज, २ माघ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले वीरगन्जमा भन्सार छली भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नियन्त्रणमा लिएको छ।
मिति २०८२ पुस ३० गते करिब ३ः३० बजे वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोक र बुखार चोक सडक क्षेत्रमा गरिएको विशेष गस्ती तथा चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको टोलीले भन्सार छली चोरी पैठारी गरिएको करिब रु. ३,०६,५०० (तीन लाख छ हजार पाँच सय) बराबरको विभिन्न लत्ताकपडा, किराना सामान, रेलिङ पाइप तथा इलेक्ट्रोनिक सामग्री नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अवैध व्यापार तथा भन्सार छलीविरुद्धको कारबाहीलाई निरन्तर कडाइका साथ अघि बढाइने बताएको छ।
