बारा, जेठ २७ ।बारा प्रहरीले बिलबिजक तथा वनस्पति क्वारेन्टाइन प्रमाणपत्र नभएको ठूलो परिमाणको आँपसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले बुधबार बिहान करिब ७:१५ बजे जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज क्षेत्रमा सवारी जाँचका क्रममा सिरहाबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७८४ नम्बरको पिकअप रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उक्त गाडीमा लोड गरिएको १०६ क्यारेट आँप (२६५० किलोग्राम) का लागि आवश्यक बिलबिजक तथा वनस्पति क्वारेन्टाइन सम्बन्धी कागजात नभेटिएपछि प्रहरीले सामानसहित गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको आँपको अनुमानित मूल्य रु. २ लाख ६५ हजार रहेको छ भने पिकअप गाडीको मूल्य रु. १७ लाख आँकलन गरिएको छ। यसरी बरामद सामान र सवारीसाधनको कुल मूल्य रु. १९ लाख ६५ हजार बराबर रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पिकअप चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ निवासी २६ वर्षीय विवेक लोप्चनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बरामद सामानसहित वीरगञ्ज भन्सार कार्यालय, पर्सा पठाइएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
सीमावर्ती तथा राजमार्ग क्षेत्रमा राजस्व छली, अवैध ढुवानी तथा बिलबिजकविहीन वस्तुको ओसारपसार नियन्त्रणका लागि बारा प्रहरीले चेकजाँच अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।
