सशस्त्रका डिएसपी विकास अधिकारीको कुशल अपरेसन : एकै दिन करिब १० लाखको अवैध सामान बरामद, तीन जना पक्राउ

समाचार

वीरगञ्ज, जेठ ३१ । सशस्त्र प्रहरी बल नेपाल पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै एकै दिन करिब १० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीको निर्देशन तथा तस्करी नियन्त्रण अभियानअन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा तीन जना व्यक्ति पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका अनुसार जेठ ३१ गते राति १२ः१५ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा सीमा क्षेत्रमा संयुक्त मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको बोइलर कुखुरा बरामद गरेको हो।


सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब  निरीक्षक अनिलकुमार ठाकुरको कमाण्डमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोली र बीओपी सिर्सियाबाट सशस्त्र प्रहरी निरीक्षक समराज खड्काको नेतृत्वमा खटिएको छ सदस्यीय टोलीले संयुक्त रूपमा निगरानी गरिरहेको अवस्थामा मधेश प्रदेश ०३–००२ स २४३६ नम्बरको ई–लोडरमा लोड गरी ल्याइँदै गरेको ७५० किलोग्राम बोइलर कुखुरा फेला पारेको थियो।

बरामद गरिएको कुखुराको अनुमानित मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ। सो कुखुरा ओसारपसारमा प्रयोग गरिएको ई–लोडरको मूल्य ६ लाख रुपैयाँ आँकलन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसरी बरामद गरिएको कुखुरा र सवारी साधन गरी कुल ८ लाख ५० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।

बरामद बोइलर कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१९ बर्वाका ३२ वर्षीय विरेन्द्र शाह कानु तथा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–७ काँकडाका २५ वर्षीय केशव थिङलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनासहित बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, सोही दिन वीरगञ्ज महानगरपालिका–१६ क्षेत्रमै सञ्चालन गरिएको अर्को निगरानी तथा जाँच अभियानका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएको कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी टोलीले करिब १ लाख ७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडासहित एक भारतीय महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य निवासी रिता रामदेवी रहेको सशस्त्र प्रहरीको भनाइ छ। उनलाई बरामद कपडासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी, गस्ती तथा चेकजाँचलाई थप कडा बनाएको छ। विशेषगरी वीरगञ्ज नाकासँग जोडिएका विभिन्न अनधिकृत सीमा मार्गहरूमा चौबीसै घण्टा निगरानी बढाइएका कारण तस्करीका प्रयासहरू लगातार असफल हुँदै गएको सुरक्षा अधिकारीहरूको दाबी छ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियानले पछिल्ला दिनहरूमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। डीएसपी विकास अधिकारीको नेतृत्वमा खटिएका सुरक्षा टोलीहरूले सीमा क्षेत्रमा सक्रिय तस्कर समूहविरुद्ध निरन्तर अपरेसन सञ्चालन गर्दै अवैध कारोबार नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छन्।

सुरक्षा अधिकारीहरूले सीमावर्ती क्षेत्रलाई तस्करीमुक्त बनाउन अझ सशक्त रूपमा अभियान सञ्चालन गरिने तथा अवैध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्। उक्त अभियानअन्तर्गत आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्था थप कडा बनाइने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *