ट्राफिक नियम पालना गर्न जनचेतना र्‍याली, वीरगञ्जमा ३०० जनाको सहभागिता

समाचार

वीरगञ्ज, असार ३ । ट्राफिक नियमको पालना र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साले “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत पहिलो दिन बुधबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

“ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटनाबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने मूल नारासहित बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको प्रमुख उपस्थितिमा नेपाली सेना, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख, नेपाल रेडक्रस सोसाइटी वीरगञ्जका प्रतिनिधि, नेपाल स्काउटका स्वयंसेवक, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घण्टाघर चोकदेखि भानुचोकसम्म आयोजित प्रभातफेरीमार्फत सहभागीहरूले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जका अनुसार ट्राफिक नियमप्रति सर्वसाधारणको सचेतना अभिवृद्धि गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यस्ता जनचेतनामूलक अभियान आगामी दिनहरूमा समेत निरन्तर सञ्चालन गरिने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *