दाहसंस्कार गर्ने परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ, मोरङ प्रहरीले सुरु गर्‍यो अनुसन्धान

समाचार

विराटनगर, असार १०। मोरङको विराटनगरस्थित परोपकार घाटमा सार्वजनिक स्थलमै अश्लील तथा अमर्यादित गतिविधि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८३ असार ९ गते राति करिब १२:३० बजे विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गरिरहेको तथा सो समूहका दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले सार्वजनिक स्थलको मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरूमा विराटनगर–६ का ४४ वर्षीय शुरेन्द्र मणि मण्डल, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिस काफ्ले तथा विराटनगर–४ का ४४ वर्षीय छबिलाल घिमिरे रहेका छन्।

प्रहरीका अनुसार दाहसंस्कार जस्तो संवेदनशील तथा सार्वजनिक स्थलमा गरिएको यस्ता गतिविधिले सामाजिक मर्यादा र सार्वजनिक शान्तिमा असर पुग्ने भएकाले घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्र ले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *