बारामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

समाचार

बारा, १८ असार ।बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा बुधबार साँझ चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका स्थानीय कपिल देव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दास र मन्टु दासकी करिब ३० वर्षीया श्रीमती सरिता देवी दासमाथि अचानक चट्याङ परेको थियो।

घटनामा सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङबाट घाइते भएकी सरिता देवी दासलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। सामान्य उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा SOCO टोली तथा प्रहरी चौकी तेलकुवाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा चट्याङको जोखिम बढ्ने भएकाले मेघगर्जन र चट्याङ पर्ने समयमा खुला ठाउँ, खेतबारी तथा अग्ला रुखमुनि नबस्न र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *