बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान,पर्साका एसपी पाठकद्वारा बधाई

समाचार

वीरगञ्ज, असार २०।  जिल्ला प्रहरी कार्यालय पर्सामा बढुवा भएका प्रहरी कर्मचारीहरूको दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको विभिन्न मिति र चलानी नम्बरअनुसार सञ्चारतर्फका प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) बाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.), प्रहरी हवल्दार (प्र.ह.) बाट प्रहरी वरिष्ठ हवल्दार (प्र.ब.ह.) तथा प्रहरी जवान (प्र.ज.) बाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई शुक्रबार  दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले आयोजित कार्यक्रममा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सु–शोभन गराउँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा एसपी पाठकले बढुवासँगै जिम्मेवारी पनि थपिने उल्लेख गर्दै उच्च व्यावसायिकता, अनुशासन, इमान्दारिता र नागरिकमैत्री सेवा प्रवाहमा अझ समर्पित भएर कार्य गर्न निर्देशन दिएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले बढुवा भएका सम्पूर्ण प्रहरी कर्मचारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *