अव्यवस्थित इन्टरनेटका तार व्यवस्थापनमा वीरगञ्ज महानगर सक्रिय, सेवा प्रदायकलाई छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन

समाचार

वीरगञ्ज, साउन २१ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा अव्यवस्थित र लथालिङ्ग अवस्थामा रहेका इन्टरनेटका तारहरूको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वयात्मक छलफल गर्ने भएको छ।

सडक, विद्युत् पोल तथा सार्वजनिक स्थानहरूमा जथाभावी छाडिएका इन्टरनेटका तारका कारण सहरी सौन्दर्यमा नकारात्मक असर परेको, दुर्घटनाको जोखिम बढेको तथा विकास निर्माणका क्रममा मर्मत र सरसफाइमा समेत समस्या उत्पन्न भएको भन्दै महानगरले व्यवस्थापन प्रक्रिया अघि बढाएको हो।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको विशेष चासोमा सुरु गरिएको यस अभियानअन्तर्गत गर्मी मौसममा आगलागीको सम्भावित जोखिम न्यूनीकरण, सुरक्षित तार व्यवस्थापन तथा व्यवस्थित सहरी पूर्वाधार निर्माणलाई जोड दिइएको महानगरले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराद्वारा जारी सूचनाअनुसार वीरगञ्ज क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिलाई साउन २२ गते बिहान ११:०० बजे महानगरपालिकाको बैठक हलमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

महानगरले छलफलमा अनुपस्थित हुने सेवा प्रदायक कम्पनीलाई असहयोगी मानिने र त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थिति तथा परिणामको जिम्मेवारी सम्बन्धित कम्पनी स्वयंले वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।

महानगरपालिकाको यो पहलले अव्यवस्थित तार व्यवस्थापन, सहरी सौन्दर्य संरक्षण, सार्वजनिक सुरक्षामा सुधार तथा व्यवस्थित पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *