सिराहा ,२५ साउन । सिराहाको कर्जन्हा नगरपालिकामा बोलबम श्रद्धालु सवार ट्र्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार बोलबम श्रद्धालु सवार ज.१ त ४८०८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।
उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ट्र्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालु भक्तजन सवार थिए। विद्यालयको गेटअगाडिको उकालोमा पुगेपछि ट्र्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा ट्रेलरमा सवार श्रद्धालुहरू घाइते भएका हुन्।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका करिब १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्। उनलाईसहित सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्र्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ। ट्र्याक्टर चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका करिब ३५ वर्षीय रामबिहारी मण्डल फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरू
१. अनुराग मण्डल, १३ वर्ष
२. कृष्णा मण्डल, १७ वर्ष
३. गंगिया मण्डल, ४० वर्ष
४. राहुल दास, १८ वर्ष
५. प्रिन्स दास, १३ वर्ष
६. गोपाल यादव, १८ वर्ष
७. मोना कुमारी मण्डल, ३३ वर्ष
८. चन्द्र कुमारी दास, ५० वर्ष
९. रामदुलारी दास, ६० वर्ष
१०. राम कुमारी दास, ४४ वर्ष
११. पंचा मण्डल, १७ वर्ष
१२. आसिस कुमार यादव, १७ वर्ष
१३. बिकी मण्डल, १२ वर्ष
१४. कृष्णा कुमार यादव, १३ वर्ष
१५. बिना कुमारी मण्डल
प्रहरीका अनुसार घाइते सबैको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने फरार चालकको खोजी तीव्र पारिएको छ।
