हुण्डी कारोबारको रकम बरामद गराउन सफल प्रहरी सहायक हवल्दार शेष सदाम ‘Police of the Month’ घोषित

समाचार

काठमाडौं,३१ साउन  । स्रोत नखुलेको हुण्डी रकम बरामद गरी कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा कार्यरत प्रहरी सहायक हवल्दार शेष सदामलाई २०८३ साल श्रावण महिनाको ‘Best Police of the Month’ घोषणा गरिएको छ।

मिति २०८३/०४/२६ गते दिउँसो करिब १ः४० बजे काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

सो क्रममा आँचल फ्रुट सेन्टरका सञ्चालक बारा घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहाको पसल तथा डेरा कोठामा चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय नगद ३ लाख ४ हजार ३०० रुपैयाँ फेला परेको थियो। उक्त रकम प्रहरीले तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो।

उक्त कारबाहीमा उत्कृष्ट कार्यसम्पादन गर्दै नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी इमान्दारी, बफादारी, लगनशीलता र कर्तव्यनिष्ठताका साथ पूरा गरेको भन्दै प्रहरी सहायक हवल्दार सदामलाई प्रशंसा–पत्र प्रदान गरिएको हो।

प्रहरी वृत्त कालिमाटीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले सदामले विभागीय नीति, निर्देशन तथा आदेशको पूर्ण पालना गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन्।

प्रशंसा–पत्रमा आगामी दिनमा समेत उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

हुण्डी तथा स्रोत नखुलेको रकम कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राख्दै आएको अवस्थामा प्रहरी सहायक हवल्दार सदामको यो कार्यसम्पादनलाई प्रहरी वृत्त कालिमाटीले उदाहरणीय योगदानका रूपमा मूल्यांकन गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *