वीरगञ्ज,१ भदौ । पर्सामा अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्ने तयारीमा रहेका दुईवटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८३/०५/०१ गते पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको टोली र सब–डिभिजन वन कार्यालय, सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
संयुक्त टोलीले बालुवा उत्खनन गरी ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा ना.६ त ३६२३ र ना.६ त ६४२३ नम्बरका ट्याक्टरसहित दुई जना चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले उक्त जानकारी दिएका हुन्।
