वीरगञ्ज ,३१ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अस्पष्ट तथा नबुझिने नम्बर प्लेट राखेर सञ्चालन गरिएका सवारीसाधनमाथि निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ।
कारबाहीका क्रममा अस्पष्ट नम्बर प्लेट भएका सवारीसाधनका चालकलाई नयाँ तथा स्पष्ट नम्बर प्लेट राख्न लगाई आवश्यक सम्झाइबुझाइपछि छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
सवारीसाधनको नम्बर प्लेट स्पष्ट नहुँदा सवारीको पहिचान गर्न कठिन हुने प्रहरीको भनाइ छ। त्यस्ता सवारीसाधनबाट घटना, दुर्घटना वा आपराधिक गतिविधि गरी फरार भएको अवस्थामा सवारीको पहिचान, नियन्त्रण तथा खोजतलासमा समेत प्रतिकूल असर पर्ने भएकाले नम्बर प्लेट स्पष्ट र सजिलै देखिने गरी राख्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सबै सवारी चालकलाई प्रचलित ट्राफिक नियमको पूर्ण पालना गर्दै सवारीसाधनमा स्पष्ट देखिने नम्बर प्लेट राखेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ।
ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा गरौँ।
