रसीद आलम,१७ वैशाख, बारा।
अपराध नियन्त्रण, अनुसन्धान र सार्वजनिक सुरक्षामा उल्लेखनीय भूमिका खेलेको भन्दै इलाका प्रहरी कार्यालय सिमरा (बारा) की प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइवाले मधेश प्रदेश प्रहरी कार्यालयबाट नगदसहितको पुरस्कार प्राप्त गर्ने भएकी छिन्।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार वाइवाले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, शान्ति-सुव्यवस्था तथा लागूऔषध नियन्त्रण जस्ता क्षेत्रमा अनुशासित र कुशल ढंगमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ (ख) अनुसार उनलाई यो पुरस्कार प्रदान गरिने निर्णय भएको हो।
वाइवाले आफ्नो कार्यक्षेत्रमा देखाएको समर्पण, इमान्दारिता र व्यावसायिक क्षमताको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिन लागेको हो। सिमरा क्षेत्रका नागरिक र स्थानीय बुद्धिजीवीहरूले उनलाई एक कर्मठ, निडर र जनमैत्री महिला प्रहरीको रूपमा चिनेका छन्।
स्थानीय बासिन्दाहरूको भनाइमा, डीएसपी वाइवाको नेतृत्वमा सिमरामा हुने अपराधका घटनाहरूमा तीव्र नियन्त्रण आएको छ, लागूऔषध कारोबारमा कमी आएको छ र ट्राफिक व्यवस्थापनमा सुधार भएको छ।
“वाइवाजस्तो निष्ठावान प्रहरी अधिकृतले पुरस्कार पाउनु सुखद कुरा हो। यसले प्रहरीप्रति आम नागरिकको विश्वास अझ बढ्नेछ”, स्थानीयले प्रतिक्रिया दिएका छन् ।
सुरक्षा विशेषज्ञहरूको धारणा अनुसार, यस्ता पुरस्कारहरूले सुरक्षाकर्मीहरूमा उच्च मनोबल, प्रेरणा र जनसेवाको भावना झनै बलियो बनाउने विश्वास गरिएको छ।
