तीन वर्षीया बालिकाको हत्या आरोपमा १६ वर्षीय किशोर पक्राउ

समाचार

बारा,३ भदौ  । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक किशोरसहित दुई जनालाई पक्राउ गरेको छ।

भक्तिनगरस्थित एक घरको खाली कोठामा मंगलवार साँझ करिब ५ः४५ बजे बालिका मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी  टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोली खटिएको  प्रहरीले जनाएको छ।

थप अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको छ। प्रहरीका अनुसार गरिमा साउन  ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।

अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय पर्सा, वीरगन्जबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट जितपुरसिमरा–२ बस्ने १६ वर्षीय सिमरा “सु “थापाले (नाम परिवर्तन गरिएको )बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र त्यसपछि यौन हिंसा गरी हत्या गरेको आशंका पुष्टि हुने आधार फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको पहिचान तथा घटनासम्बन्धी अन्य विवरण अनुसन्धानको क्रममा रहेकाले प्रहरीले प्रमाण र तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *