वीरगञ्ज, ९ भदौ । पर्सामा भारतबाट भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याइँदै गरेको करिब १० लाख रुपैयाँ बराबरका लत्ताकपडासहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ निवासी २५ वर्षीय दिपेन्द्र साह रहेका छन्।
पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा क्षेत्रमा भारतबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल बीओपी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मंगलबार बिहान करिब ३ बजे खटिएको संयुक्त टोलीले BR 22 BO6 0017 नम्बरको प्लाटिना मोटरसाइकल सहित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनको साथबाट भारतीय कपडाका १२ बोरा, अन्दाजी १० लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका साह, मोटरसाइकल तथा बरामद कपडालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि निगरानी तथा संयुक्त गस्तीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।
