बाढीले बगाएको देवीघाट–जिलिङ पुल सञ्चालनमा, विदुरसँग सडक सम्पर्क पुनः जोडियो

समाचार

नुवाकोट ,२५ भदौ ।भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएको नुवाकोटको देवीघाटस्थित तादी खोला पुल पुनः सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै अवरुद्ध बनेको धादिङको गल्छी हुँदै नुवाकोट सदरमुकाम विदुर जोड्ने सडक सम्पर्क पुनःस्थापित भएको छ।

बाढीका कारण विदुर नगरपालिका–५, देवीघाट र बेलकोटगढी नगरपालिका–८, जिलिङ जोड्ने तादी खोला पुलमा क्षति पुगेपछि उक्त मार्गमा यातायात सेवा प्रभावित भएको थियो। पुल पुनः सञ्चालनमा आएपछि धादिङको गल्छीबाट देवीघाट हुँदै विदुरसम्म सवारीसाधन आवतजावत गर्न सहज भएको छ।

महत्त्वपूर्ण सडक सम्पर्क पुनःस्थापित भएपछि नुवाकोटको सदरमुकाम विदुरसँग धादिङ तथा आसपासका क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीयवासीलाई समेत राहत पुगेको छ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलहरू पुनर्निर्माण र मर्मतको काम तीव्र पारिएसँगै अवरुद्ध भएका यातायात मार्गहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्। देवीघाटको पुल सञ्चालनमा आउनुलाई बाढीपछिको सडक सम्पर्क पुनःस्थापनामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *