वीरगञ्ज,७ असोज । पर्सा प्रहरीले १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले मंगलवार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८३ असोज ६ गते करिब साँझ ७ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डमा BR05BL 1680 नम्बरको कालो–रातो रंगको TVS अपाचे मोटरसाइकलमा सवार दुई जना शंकास्पद रूपमा बसपार्कतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीमा लुकाइछिपाई राखेको १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेकामध्ये पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।
प्रहरीले सन्तोष प्रसाद पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइछिपाई राखिएको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ तथा लागूऔषध प्याकिङ गर्न प्रयोग हुने प्लास्टिक बरामद गरेको जनाएको छ।
बरामद पदार्थको परीक्षण तथा थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
