असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह

समाचार

काठमाडौं,७ असोज  । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान सार्वजनिक गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका हुन्।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। त्यस्तै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्र बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिममा पर्न सक्ने जनाइएको छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रधानमन्त्री शाहले विशेषगरी पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिक बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

त्यस्तै ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन समेत आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र सचेत बन्न अपिल गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *