पर्सा ,८ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्य आशिफ अहमदले पद तथा संगठनको सदस्यताबाट राजीनामा दिएका छन्।
अहमदले २०८३ साल असोज ८ गते अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीलाई राजीनामा पत्र लेख्दै आजकै मितिदेखि लागू हुने गरी केन्द्रीय सदस्य पदसहित संगठनमा रहेको आफ्नो सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट अलग हुने निर्णय गरेको जनाएका छन्।
राजीनामा पत्रमा उनले आफूले अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा संगठनप्रति निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गरेका छन्। उनले व्यक्तिगत निर्णयका आधारमा नेकपा (एमाले) तथा अनेरास्ववियुसँगको आफ्नो पद, जिम्मेवारी तथा सदस्यता त्याग्ने निर्णय गरेको बताएका छन्।
अहमदले आफ्नो राजीनामा स्वीकृत गरी संगठनात्मक अभिलेखमा आवश्यक प्रक्रिया पूरा गरिदिन नेतृत्वसमक्ष अनुरोध गरेका छन्।
संगठनमा रहँदा प्राप्त साथ, सहयोग, अनुभव तथा अवसरका लागि नेतृत्व, सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि सबैप्रति सम्मान र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।
