(भन्सारको लिलाममा कम मूल्यमा सवारीसाधन तथा सामान उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरेको आरोप)
वीरगञ्ज,२९ असोज । वीरगञ्ज भन्सार कार्यालयबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना बिचौलिया पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रविण साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई २०८३ असोज २२ गते वीरगञ्ज महानगरपालिका–८, घण्टाघरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको भन्दै सर्वसाधारणलाई झुक्याउने गरेका थिए। उनले वीरगञ्ज भन्सार कार्यालयमा रहेका एजेन्टहरूसँग आफ्नो राम्रो चिनजान रहेको दाबी गर्दै लिलाम बिक्रीमा राखिएका सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाउने गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
लिलाम बिक्रीमा सामान खरिद गर्न तयार भएका व्यक्तिहरूलाई विभिन्न आश्वासन दिएर उनले अलग-अलग बैंक खातामा रकम जम्मा गर्न लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको प्रहरीको भनाइ छ। यसरी उनले बिचौलियाको भूमिका निर्वाह गर्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोप लागेको छ।
पक्राउ परेका साहमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पहिचान गर्न प्रहरीले विशेष निगरानी बढाउनुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको छ। भन्सारको लिलाम प्रक्रियामा सस्तो मूल्यमा सामान दिलाइदिने भन्दै रकम माग्ने तथा आफू सरकारी कर्मचारी वा भन्सारका एजेन्टसँग नजिकको सम्बन्ध रहेको दाबी गर्ने व्यक्तिहरूबाट सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्ता बिचौलियाको प्रलोभनमा नपर्न, उनीहरूसँग आर्थिक कारोबार नगर्न तथा शंकास्पद गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिनसमेत प्रहरीले अनुरोध गरेको छ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिएका हुन्।
