प्रधानमन्त्री ओलीको निर्देशन : मल वितरण चुस्त, कम्पोस्ट उत्पादन र मल कारखाना स्थापना गर्न तयारी

राजनीति समाचार

काठमाडौं,२८ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानबीच देखिएको मल अभावको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई ठोस निर्देशन दिएका छन्।

उनका अनुसार आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहे पनि वितरण प्रणालीको कमजोरीका कारण किसानले ‘मल पाएका छैनौं’ भन्ने गुनासो गरिरहेका छन्। यसबारे हिजो नै सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले किसानको समस्या हेरेर बस्ने होइन, तत्काल समाधान गर्ने नीति लिनुपर्ने उल्लेख गर्दै तीनवटा मुख्य कार्य कार्यान्वयन गर्न आदेश दिएका छन्—
१. रासायनिक मल वितरणलाई चुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना तयार गर्ने।
२. कम्पोस्ट र अर्ग्यानिक मल उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै अनुदान नीतिको प्रस्ताव ल्याउने।
३. माटोको उर्वरता जोगाउने प्रकारको रासायनिक मल कारखाना नेपालमै स्थापना गर्न अध्ययनको खाका तयार गर्ने।

उनले सरकारी निकायहरू आफ्नै जिम्मेवारीमा जवाफदेही हुनुपर्ने भन्दै, किसानको समस्यामा सरकार चुप लागेर बस्न नहुने स्पष्ट संदेश दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *