(पर्सा प्रहरीको कारबाहीमा पोखरियाबाट ५१ वर्षीय अशोक कुमार वर्णवाल पक्राउ, प्रहरी र सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिएको आरोपमा समेत अनुसन्धान)
वीरगञ्ज ,९ कार्तिक । सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै पास गराइदिने प्रलोभन देखाएर रकम असुली गर्ने आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार वर्णवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र दुवै सुरक्षा निकायका सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारेर रकम असुल्ने गरेको सूचना प्राप्त भएको थियो।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वर्णवाललाई मिति २०८३ कात्तिक ६ गते पोखरिया नगरपालिका–५ स्थितबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार वर्णवालले भन्सार छली तथा चोरी–तस्करीका सामानहरू सहजै सेटिङ मिलाएर पास गराइदिने भन्दै रकम माग्ने गरेको आरोप छ। रकम नदिने व्यक्तिहरूको सामान सुरक्षाकर्मीमार्फत पक्राउ गराइदिने भन्दै त्रास सिर्जना गरेर बिचौलियाको काम गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको हो।
त्यसैगरी, वर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका वर्णवालमाथि कानूनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घटनाबारे जानकारी दिएका हुन्।
सुरक्षाकर्मीको नाम र पहुँचको दुरुपयोग गर्दै अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरिदिने प्रलोभन देखाएर रकम असुल्ने तथा सरकारी सेवामा जागिर लगाइदिने भन्दै ठगी गर्ने कार्यमाथि अनुसन्धान अघि बढाइएको यस घटनाले देखाएको छ। प्रहरीले अनुसन्धानबाट खुल्ने थप तथ्यका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।
