पोखरिया, पर्सा । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले पर्सा प्रहरीले गाउँगाउँमा सुरक्षा गस्ती परिचालन गरेको छ।
चाडपर्वलाई लक्षित गर्दै नागरिकको धनमाल तथा जिउज्यानको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनअनुसार इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न गाउँ तथा बस्तीमा प्रहरी गस्तीलाई तीव्रता दिएको हो।
चाडपर्वका बेला मानिसहरू किनमेल, भेटघाट तथा धार्मिक र सामाजिक कार्यक्रममा व्यस्त हुने र कतिपय घरपरिवार बाहिर जाने अवस्थालाई मध्यनजर गर्दै चोरी तथा लुटपाटका घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ।
गस्ती टोलीले गाउँबस्ती, बजार क्षेत्र, सार्वजनिक स्थान तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित निगरानी गर्नुका साथै शंकास्पद गतिविधिमाथि विशेष ध्यान दिइरहेको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
प्रहरीले चाडपर्वको समयमा घर छाडेर बाहिर जानुपरेमा छिमेकीलाई जानकारी गराउन, घरको ढोका तथा झ्याल सुरक्षित राख्न र कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ।
चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र भयरहित बनाउन पर्सा प्रहरीको गाउँकेन्द्रित गस्ती अभियानले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
