गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड फायर, मध्यरातमा गाउँ त्रसित

समाचार

(गढवाका राकेश यादव गम्भीर घाइते, पिठ्युँ र हातमा गोली लागेको प्रहरीको भनाइ)

रौतहट, १८ कात्तिक । रौतहटको गौर नगरपालिका–४ गढवामा मंगलबार राति गोली चलेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी लगातार पाँच राउन्ड गोली प्रहार गर्दा स्थानीय रामविलास यादवका छोरा २८ बर्षीय राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

गाउँकै पानी ट्यांकी नजिक राति करिब ९ः१५ बजे भएको उक्त घटनाले शान्त बस्तीमा एकाएक सन्त्रास फैलाएको थियो। गोली चलेको आवाज सुनेपछि स्थानीयवासी घटनास्थलतर्फ पुगेका थिए। तर, आक्रमणकारी को थिए र गोली प्रहार गरेपछि कुन दिशातर्फ भागे भन्ने विषय अझै खुलेको छैन।

गोली लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पुर्‍याइएको छ। उनको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार घाइतेको सिटी स्क्यान परीक्षण गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको छ। हात, पाखुरा र पिठ्युँमा गोलीका घाउसमेत रहेका छन्।

डीएसपी गौतमले घाइतेको अवस्था गम्भीर भए पनि चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन्।

आक्रमणको कारण रहस्यमै

युवकमाथि पाँच राउन्ड गोली प्रहार हुनुको पछाडि व्यक्तिगत रिसइबी, आपसी विवाद वा अन्य कुनै कारण रहेको हो भन्नेबारे अहिलेसम्म कुनै तथ्य सार्वजनिक भएको छैन। घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत हुन सकेको छैन।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरी घटनास्थलको अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले बताएका छन्।

गौरजस्तो सदरमुकामको बस्तीमै रातिको समयमा भएको सशस्त्र आक्रमणले स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ। आखिर युवकलाई नै किन निशाना बनाइयो र पाँच राउन्ड गोली प्रहार गर्ने व्यक्ति को हुन् भन्ने प्रश्नको जवाफ अब प्रहरी अनुसन्धानबाट खुल्न बाँकी छ।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *