सामाजिक सञ्जालमा प्रहरीबारे मिथ्या सूचना फैलाएको आरोपमा सर्लाहीका दुई जना पक्राउ

समाचार

मलंगवा, मंसिर १ ।सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरीसँग सम्बन्धित घटनाबारे गलत, मिथ्या तथा भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सामाजिक सञ्जालमार्फत वास्तविकताभन्दा फरक सूचना सार्वजनिक गरी आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी मातहतका विभिन्न इकाइबाट खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–७ निवासी २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरिया निवासी ३२ वर्षीय आलम बैठा रहेका छन्।

पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत तथा बैठाले आफूले सञ्चालन गर्दै आएको फेसबुक पेजमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे भ्रमपूर्ण सूचना प्रकाशन तथा प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट पक्राउ नै नगरिएको व्यक्तिलाई पक्राउ गरिएको भनी सामाजिक सञ्जालमा गलत सूचना सार्वजनिक गरेको पाइएको प्रहरीको भनाइ छ। यसरी तथ्यहीन सूचना फैलाउँदा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक अन्योल र अविश्वास उत्पन्न गराउने अवस्था देखिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यस घटनापछि प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको सत्यता र आधिकारिकता पुष्टि गर्न विशेष आग्रह गरेको छ। विशेषगरी प्रहरीसँग सम्बन्धित पक्राउ, अनुसन्धान तथा अन्य कारबाहीका विषयमा आधिकारिक स्रोतबाट जानकारी नलिई अपुष्ट सामग्री प्रकाशन, शेयर वा पुनःप्रसारण नगर्न प्रहरीले सचेत गराएको छ।

प्रहरीका अनुसार मिथ्या तथा भ्रामक सूचना उत्पादन र प्रसारण गर्ने, अरूलाई त्यस्ता सामग्री सार्वजनिक गर्न दुरुत्साहन गर्ने तथा सत्यतथ्य पुष्टि नगरी शेयर र पुनःप्रकाशन गर्ने गतिविधिले सार्वजनिक शान्ति सुव्यवस्था, सामाजिक सद्भाव र नागरिकको सूचनाको हकमा समेत नकारात्मक असर पार्न सक्छ।

त्यसैले सामाजिक सञ्जाललाई जिम्मेवार, मर्यादित र तथ्यमा आधारित रूपमा प्रयोग गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। प्रहरीसँग सम्बन्धित कुनै पनि घटना वा समाचारको आधिकारिकताका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी वा सम्बन्धित प्रहरी कार्यालयबाट पुष्टि गरेर मात्र सूचना सम्प्रेषण गर्नसमेत आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *