काठमाडौं – स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किई घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ।
हिजो काठमाण्डौ महानगरपालिका वडा नं. २ लाजिम्पाट स्थित वेस्ट मन्टेश्वरीको स्कुलको कक्षा ५ मा अध्यनरत काठमाण्डौ जिल्ला सामाखुसी बस्ने बर्ष १३ को विद्यार्थी स्कुल छुट्टी भए पश्चात सोही स्कुलको बा १ क ४६४२ बसमा चढी घर फर्कने क्रममा उक्त बसको पछाडिको सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोकिन पुगी टाउकोमा गम्भीर चोट लागेकोले तत्कालै निजलाई उपचारको लागि सोही स्कुलका व्यवस्थापकले त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल महाराजगञ्जमा लगी उपचार गराएको र उपचारको क्रममा आज बिहान ०२:२१ बजे निज नावालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त दरवारमार्ग अनुसार प्रहरीले उक्त बा १ क ४६४२ नं. को बस र चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान प्रहरी वृत्त दरवारमार्गबाट भई रहेको जानकारी गराएको छ ।
बालबालिका हाम्रा वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्याउन पर्ने हुन्छ । सानो असावधानीले मात्रपनि ठुलो घटना घट्न जाने हुन्छ । तसर्थ, सम्बन्ध निकाय र अभिभावकले समयमै ध्यान पुर्याउन जरुरी छ ।