रसीद आलम।बिरगंज ,फागुन १।अपहरण तथा लुटपाट गर्ने आठ जना ब्यक्तिहरुलाई हतियार सहित पर्सा प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वे सडकखण्डबाट मिति २०७९।१०।२६ गते पेस्तोल देखाइ अपहरण गरी वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा स्थित एकान्त ठाउँमा लगी विशाल कुमार पटवाको साथमा भएको नगद नेपाली रू.६,५०,०००।– ( छ लाख पचास हजार ) रूपैया डकैती गरेको आरोपमा निजहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वाबाट पीडित बिशाल कुमार पटवालाई सकुशल उद्दार गरिएको हो।
पक्राउ पर्नेहरूमा वीरगन्ज.म.न.पा.वडा नं.२४ रामगढवा बस्ने वर्ष ३४ को बिजय महत्तो,वी.म.न.पा.वडा नं.२ छपकैया बस्ने वर्ष ३० को सदाम अन्सारी,वी.म.न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को सन्तोष लामा,कलैया उ.म.न.पा.वडा नं.२३ बस्ने वर्ष २६ को मुकेश पटेल,भारत विहार पूर्वी चम्पारण जि.मोतीहारी रक्सौल अहिरवाटोल ७ बस्ने वर्ष २४ को ईमाम अन्सारी,वी.म.न.पा.वडा नं.११ बस्ने वर्ष ४० को रोशन थापा,वी.म.न.पा.वडा नं.११ बस्ने वर्ष ४२को मोजामिल मियाँ र परवानीपुर गा.पा.वडा नं.३ लिपनी बस्ने वर्ष ३० को नबाब हुसेन रहेका छन ।
निजहरूबाट पेस्तोल १ थान,गोली ५ राउण्ड, मोटरसाइकल ३ वटा र लुटिएको रकम मध्येका रू.४,९५,०००।– ( चार लाख पन्चान्वे हजार ) बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।
पक्राउ परेकाहरु यस अघि उक्त गिरोह भारत बिहारका विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।
उनिहरू विरुद्द अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताएका छन ।
