महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्न रोक लगाइएको भन्दै उजुरी

समाचार

 

बारा, २६ चैत । बाराको सुवर्ण गाउँपालिकामा आयोजना आइतबारबाट हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको यज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो ।

गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरुको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक यज्ञ हुन लागेको छ ।

यज्ञको सबै तयारी भएपछि स्थानीय करिब ९० घरपरिवारका दलित समुदायका श्रद्धालुहरुलाई सहभागी हुन बन्चित गरिएको आरोप उजुरीमा लगाइएको छ । ‘यज्ञस्थलको निर्माण कार्यमा दलितहरुलाई श्रमदान गर्न लगाइयो, स्थानीय सुरेन्द्र रामले भने, ‘यज्ञस्थल निर्माण भइसकेपछि अब आइन्दा यज्ञस्थलमा प्रवेश नगर्नु भनेर उर्दी जारी गरिएको छ ।’

उनका अनुसार आयोजकले आफ्ना बालबालिकालाई पनि यज्ञमा नपाउन र उर्दी विपरीत पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको छ । यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलन जस्ता कार्यमा दलित समुदायका मानिसहरुलाई प्रयोग गरिएको थियो ।

तर, यज्ञ सुरु गरेर पूजा गर्ने समयमा भने गाउँका केहीले रोक लगाउने प्रयास गरेको सुरेन्द्रले बताए । आफूहरुलाई यज्ञमा पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट बञ्चित गराएको भन्दै दलितहरुले आयोजक मध्येका रामदेवप्रसाद यादव, ईनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिप्रकामा लिखित उजुरी गरेका हुन्।

प्रचलित कानुनले जातपातको नाममा कसैमाथि पनि छावाछुत गर्न नपाइने र यस्तो कसुर गर्नेमाथि २० हजारदेखि २ लाखसम्म दण्ड र ६ महिनादेखि तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *