बनेपा २८ बैशाख । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।
‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो ।
२०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुदैँ आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।
आज उनको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।
‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’