रसीद आलम, बिरगंज , ७ भदौ ।
बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
बुधबार १०:३० बजे राती बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ ख ७९१० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ गरेको ट्रक र सो भित्र लोड रहेको खुद्रा तथा हार्डवेयरका सामानहरूको रू.एकसठी लाख एकचालीस हजार बैसठ्ठी बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गीरिले जनाएका छन् ।