बिरगंज, २८ फागुन ।
सशस्त्र प्रहरी बल पर्सा गुल्म, बिरगंजका डीएसपी लोकेन्द्र सुब्बाको कमान्डमा गरिएको विशेष अपरेशन अन्तर्गत बिरगंज महानगरपालिका -१६ बसपार्कबाट अवैध घरेलु मदिरासहित एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार बिरगंज-१६, बसपार्क क्षेत्रबाट हेटौंडा–बिरगंज चल्ने भे १ ज १२०४ नम्बरको माइक्रोबसमा झण्डै ३०० लिटर अवैध घरेलु मदिरा ओसारपसार भइरहेको सूचनाको आधारमा सो माइक्रोबस नियन्त्रणमा लिइएको हो। गाडीका चालक हेटौंडा उपमहानगरपालिका-१० निवासी ४० वर्षीय अनुप बर्तौला समेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, बिरगंजमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गत सुरक्षा बेस जितपुरले बिरगंज बसपार्कबाट काठमाडौं जाँदै गरेको ‘हर हर महादेव’ बसबाट साढे तीन लाख रुपैयाँ बराबरको कपडा तथा विभिन्न तस्करीका सामान बरामद गरेको छ।
