रसीद आलम,बिरगंज ,१३ कार्तिक ।
बिरगंजमा १० लाख बराबरको गरगहाना तथा अन्य सामानहरू चोरी गरेको आरोपमा नगवाका २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सर्लाही हरिवन न.पा.वडा नं.१ जानकीनगर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.५ मा घरकोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनालीको कोठामा चोरी गरेको आरोपमा दुई जना चोरहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
खिल बहादुर मैनालीले कार्तिक ८ गते रातीमा दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरूको साथमा लिई सर्लाहीको हरिवन न.पा.वडा नं.१ आफ्नो पुर्खौली घर गएको बेला मौका छोपी घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर-गहाना तथा नगद समेत गरी रू.१०लाख बराबरका मालबस्तुहरू तथा गरगहानाहरू चोरी भएको मैनालीले दाबी गरेका छन् ।
मैनालीले दाबी गरेका सूचनाको आधारमा कार्तिक ११ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले दुई जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा उक्त चोरीमा संलग्न वीरगञ्ज म.न.पा.वडा नं.१६ नगवा बस्ने वर्ष ३२ को शेख मख्खु तथा सोही बस्ने वर्ष ३० को पवन यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
निजहरु बाट सुनको औठी २ थान, सुनको चन्द्रमाको कभर-१ थान,सुनको डल्लो-१ थान, मंगलसुत्र-१ थान, कानको टप-१ थान,चाँदीको सिन्दुरको डब्बा-१ थान,चाँदीको पाउजु-२ थान, चाँदीको साँचो -१ थान, चाँदीको वाला-२ थान, पित्तलको बाला-१ थान,नगद रु.१५ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका निजहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाही भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।