रसीद आलम,मधेस प्रदेश ,१६ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ ।
मर्मतको शुरुवात बिहिबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र
प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो ।
सीमा स्तम्भ मर्मतको शुरुवात गर्नुहुँदै नायव महानिरीक्षक शाहले “दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बीचको सम्वन्ध थप मजवुद बनाउन योगदान पुर्याउने समेत वताउनुभयो ।”
उहाँले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य सुचार रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेको समेत बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महशुस गरी सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम शुरु गरिसकेको र सोहि अन्तर्गत गत कार्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसंग जोडिएका १ सय ४३ वडाका अधिकांस वडा अध्यक्षहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराउनु भएको थियो ।
नेपाल भारत Boundary Working Group (BWG) को पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (SSB) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितीमा मर्मत गर्ने तथा बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।
नेपाल सरकार मन्त्री परिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य शुरु गरिएको हो । पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजार भन्दा बढि सीमा स्तम्भहरुको मर्मत हुनेछन् ।
सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया, नापी विभागका अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।
यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरुमा समेत सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हे.क्वा., पर्साको जिम्मेवारी क्षेत्रमा रहेका सिमा स्तम्भहरुको रंगरोगन तथा मर्मत कार्य जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण खड्का, बि.म.न.पा.-२ का वडा अध्यक्ष महमद रियाज, वडा नं.१६ का वडा अध्यक्ष परशुराम चौरसिया र भारतीय पत्रकारहरु, SSB47BTN पन्टोका रक्सौलबाट 2IC Aanindra Mani ,Deputy Commandant दिपक सबिताको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालतर्फ बिरगंज म.न.पा २, ईनरुवा र भारत तर्फ पूर्वी चम्पारण पन्टोका पंचायत -४ सुन्दरपुर स्थित रहेको सानो सिमा स्तम्भ नं. ३९१/४ बाट सिमा स्तम्भ मर्मत तथा रंगरोगनको कार्य सुरुवात गर्नुभएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

बारामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर दाङ्गिको नेतृत्वमा सिमा स्तम्भहरुको निरीक्षण तथा मर्मत कार्य सुरुवात भएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।
