बिरगंज ,२१ मंसिर ।
तस्करहरूले भारतीय कुखुराको चल्लाहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा चल्लासहित तिनवटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा मंसिर २१ गते राती २:३० बजेको समयमा विन्दवासिनी गा.पा.वडा नं.४ झोवामा भारतीय कुखुराको चल्ला २००० वटा सहित BR05Z 7765 नम्बरको भारतीय मोटरसाइकल तथा मंसिर १९ गते राति २:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२२ जगरनाथपुरमा भारतीय कुखुराको चल्ला ४२०० वटा सहित BR05 B 2881 र BR05W 8381 नम्बरको भारतीय मोटरसाइकलहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
भारतबाट नेपालतर्फ ल्याईरहेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ तस्करहरुले बोकी ल्याएको भारतीय कुखुराको चल्ला छाडी भागी फरार भएको हुँदा सो कुखुराको चल्लाहरू आवश्यक कारवाही तथा नष्टको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा पठाइएको तथा नियन्त्रणमा लिएको भारतीय मोटरसाइकलहरुको रू.१ लाख ९२ हजार मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले जनाएका छन् ।
त्यस्तै , मंसिर १९ गते राति ११:५५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा ना.४ ख ७९१७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी गराएको छ।
रू.३१ लाख ६७ हजार ४ सय २४ बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंसिर २० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी कुमार बिक्रम थापाले बताए ।
