सवारी दुर्घटना हुँदा मोरङमा दुई जनाको मृत्यु

समाचार

विराटनगर, २१ माघ । मोरङका दुई भिन्नाभिन्नै स्थानमा सडक हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो मोरङको रंगेली नगरपालिका रंगेली–३ रन्जनीस्थित आनन्द इँटा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको हो।

दिउँसो करिब साढे ३ बजेतिर इँटा भट्टाभित्रै माटो ओसारपसार गर्ने क्रममा इँटा भट्टामा काम गर्ने कामदार भारतको कुचबिहार बंगालका ५५ वर्षीय बिसन्दु मियाँलाई ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। दुर्घटनापछि फरार रहेका ट्रयाक्टर चालक रंगेली–३ रन्जनीका २१ वर्षीय विवश मुर्मुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ। मियाँको शव भने पोस्टमार्टमका लागि रंगेलीस्थित रंगेली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको लेटाङ नगरपालिकामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ। माघ १४ गते दिउँसो २:५० बजे लेटाङ–२ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।

जसमा मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राई घाइते भएका थिए। घाइते उनको विराटनगरस्थित विराटनगर नर्सिङ होममा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *